अपांगता भएका बालबालिकाकाे पढाइ सुधार्न स्वावलम्बन जीवन पद्धति केन्द्रकाे सहयाेग

samadhan news

समाधान संवाददाता 
२०७९ साउन ६ गते ११:३३
पोखरा ।
स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराले कास्कीको रुपा गाउँपालिकामा सञ्चालित सबैका लागि पढाइ कार्यक्रमको समीक्षा गरेको छ । केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले कार्यक्रमले बाल विकास केन्द्रदेखि कक्षा ३ सम्ममा अपांग बाल बालिकाको पढाइ सुधार गर्न सहयोग गर्ने जानकारी दिए ।

उनले अपांग बालबालिकाको शिक्षामा पहुँच, सहभागिता र सिकाइ उपलब्धिको दृष्टिले सबैभन्दा सीमान्तकृत समूहमा पर्ने भएकाले कार्यक्रमले समेटेको बताए । उनले रुपाका ९ सय ९६ सहित कास्कीका ११ हजार ६ सय १३ बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन भएको उल्लेख गरे । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी)ले ह््यान्डिक्याप इन्टरनेसनल, विश्व शिक्षासँगको साझेदारीमा कास्कीका सबै पालिकामा कार्यक्रम लागू भएको छ ।

नेपालको शैक्षिक उपलब्धिसम्बन्धी अध्ययनले विशेष गरी ग्रामीण क्षेत्रका अपांग बालबालिकाको विद्यालय छोड्ने दर उच्च देखाएको छ । ती बालबालिकाको तुलनात्मक रूपमा सिकाई उपलब्धिसमेत कम छ । अध्यक्ष गुरुङले कार्यक्रमले अपांग बालबालिकाको तथ्यांकमा सुधार गर्ने, गुणस्तरीय शिक्षाका लागि सहयोग गर्ने जनाए । उनले अपांग बालबालिकाको प्रारम्भिक परिचान गरी स्वास्थ्य परीक्षणका लागि सिफारिस गरेको जानकारी दिए ।

‘अपांग भएका बालबालिकाको प्रारम्भिक पहिचान हुन सके अपांगताबाट रोक्न सकिन्छ,’ अध्यक्ष गुरुङले भने, ‘अपांग बालबालिकाको पढाई सुधारका लागि प्रारम्भिक पहिचान प्रभावकारी प्रक्रिया हो ।’ उनले प्रारम्भिक पहिचानले बालबालिकामा हुन सक्ने विचलनको परिणामलाई न्यूनीकरण गर्न र अपांगता हुने सम्भावनालाई जोगाउन सक्ने जानकारी दिए । समान्य अपांगतामा न्यून दृष्टि, सुस्त श्रवण र सिकाई सीमितताको प्राय पहिचान नहुने उल्लेख गर्दै उनले पहिचान भए पनि सो अनुसारको सम्बोधन हुन नसकेको चर्चा गरे । जसको कारण बालबालिका प्रभावकारी रुपमा पढ्न तथा सिक्नबाट बञ्चित भएको उनले उल्लेख गरे ।

स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका महासचिव अञ्जना केसीले प्रारम्भिक पहिचान अपांगताको शंकामात्र भएको जानकारी दिइन् । उनले समयमै पहिचान गर्न सके थप अपांग हुनबाट जोगाउन सकिने बताइन् । अपांगको खण्डिकृत तथ्यांक तयार पार्न सुझाव दिँदै उनले सबै योजनामा अपांगको सवाललाई प्राथमिकतामा राख्न माग गरिन् । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले ‘रुपाको पहिचान, सबै क्षेत्रमा समृद्धिको अभियान’ भन्ने नाराका साथ कार्यक्रम गरेको बताए । अपांग बाल बालिकालाई केन्द्रीत गरी सञ्चालित सबैका लागि पढाइ कार्यक्रम पालिकाका लागि अवसर भएको उल्लेख गर्दै उनले सामाजिक संघ, संस्थासँग समन्वय र सहकार्य गर्ने जानकारी दिए ।

उनले नीति कार्यक्रम तथा बजेट निर्माण गर्नु अगाडि नै सामाजिक संस्थाले कार्यक्रम पेश गरे समेट्न सहयोग पुग्ने उल्लेख गरे । कार्यक्रममा संस्थामा वरिष्ठ समावेशी शिक्षा अधिकृत सरिता केसीले अपांगताको प्रारम्भिक पहिचानका क्रममा २९ विद्यालयका ७९ विद्यार्थीलाई स्वास्थ्य सेवा आवश्यक परेको जानकारी दिइन् । उनले स्वास्थ्य सेवा आवश्यक पर्ने बालबालिकाको आँखा र कानको परीक्षणसमेत गरिएको बताइन् । उनले २७ बालबालिकालाई सहायक सामग्री आवश्यक भएको उल्लेख गरिन् ।

कार्यक्रममा रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना, संस्थाका समावेशी शिक्षा अधिकृत दिलमाया गुरुङ, बागेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक रामराज छिनाल लगायतले कार्यक्रमले सरकारको संविधान र नीतिमा व्यवस्था अनुसारको अपांग समावेशी शिक्षाका प्रतिवद्धतालाई कार्यान्वयन गर्न सहयोग गरेको बताए ।
https://www.samadhannews.com/2022/07/22/50115/?fbclid=IwY2xjawTzg9pwZG9mBWV4dG4DYWVtAjEwAGJyaWQRMTFORmVORzc5enlqZDE5YlZzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEeJpOxVfLocCcOnDbGx07TGinlMx0Dn_hwoMTFF-zfvRxyzJQMmQLaEP__e5o_aem_O2o0Vfp18HWfX3By1YAqlw

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top